आज देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ।

मधेश प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर बदली, केही स्थानमा भारी वर्षा

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने विभागले जनाएको छ। मौसम बुलेटिनअनुसार हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्नेछ। त्यस्तै, एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने विभागको पूर्वानुमान छ।

बाढी, पहिरो र भूक्षयको जोखिम

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ।