रास्वपा बैठककै दिन बालेन पोखरा प्रस्थान

रास्वपा बैठककै दिन बालेन पोखरा प्रस्थान

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने दिन शुक्रबार प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पोखरा प्रस्थान गरेका छन्।रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक केहीबेरमा सुरु हुँदैछ। तर प्रधानमन्त्री शाह भने बिहानै गाडीमार्फत पोखरातर्फ लागेकाले बैठकमा सहभागी नहुने भएका छन्।

आजको बैठकले पार्टीका विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय प्रमुख मनोनयनलगायत महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ। यस्तो महत्वपूर्ण बैठकमा पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता शाह अनुपस्थित हुने भएका हुन्।

रास्वपाले गत साउन १३ गते शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। त्यतिबेला पनि उनी पार्टी बैठकमा सहभागी भएका थिएनन्।

शाह गत पुस १३ गते काठमाडौं महानगरपालिकाको मेयर पद छाडेर आफ्नै समूहसहित रास्वपामा आबद्ध भएका थिए। त्यसपछि पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। शाह रास्वपामा आबद्ध भएपछि पार्टीले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जित्दै बहुमतको सरकार गठन गरेको थियो।