आज देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल देशभर सामान्यतया बदली भएको छ। बागमती, गण्डकी र कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेसका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशीका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना छ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।