

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम रहेको जनाएको छ।
हाल भोटेकोशी र त्रिशूली नदीको जलसतह सामान्य अवस्थामा रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवतजावत नगर्न तथा पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढिरहेको र फुट्ने जोखिम देखिएको छ।
ताल फुटेमा पानीसँगै ढुंगा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने उनले बताए।
‘नदी थुनिएर बनेको ताल बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ। ताल फुटेमा फेरि पानीसँगै ढुंगा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्छ,’ पराजुलीले भने।
उनका अनुसार हाल भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। जोखिम बढेमा महाशाखाले तत्काल पूर्वसूचना जारी गर्ने जनाएको छ।
अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।