बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री बालेन शाह

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापना कार्यको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका हुन्।

‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन्। प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धार कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको उनले जानकारी दिएका छन्।

उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जनालाई सुरक्षित निकालिएको छ भने हवाई उद्धारमार्फत मात्रै ५१७ जनाको उद्धार गरिएको जनाइएको छ। नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। हालसम्म ९९ वटा हवाई उडान सम्पन्न भएका छन्।

उद्धारसँगै राहत सामग्री वितरणको काम पनि तीव्र पारिएको प्रधानमन्त्री शाहले बताएका छन्। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत समेत राहत सामग्री ढुवानी गरिएको छ। सञ्चार सम्पर्क कायम गर्न आवश्यक उपकरणसमेत प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको सरकारले जनाएको छ। अपर त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा विशेष उद्धार उपकरणसहित खोज तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। यसका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रधानमन्त्रीका अनुसार हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान गरिएको छ। विदेशी नागरिकको खोज, उद्धार तथा परिवारसँग समन्वयका लागि परराष्ट्र मन्त्रालयले आपत्कालीन नियन्त्रण कक्षसमेत सञ्चालन गरेको छ।

सरकारले विदेशी सहयोग अस्वीकार गरेको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। भारत, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी भइरहेको जनाइएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको प्रधानमन्त्रीले बताएका छन्।

सडक सम्पर्क पुनःस्थापनाको कामलाई पनि तीव्रता दिइएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चलाउन थालिएको छ। काठमाडौं–मुग्लिन सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

रसुवालाई वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ भने नियमित सडक सम्पर्क पुनःस्थापनाका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली ब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।

खानेपानी, इन्धन, स्वास्थ्य तथा सरसफाइका लागि पनि आवश्यक व्यवस्थापन गरिएको छ। नुवाकोटमा पानी ट्याङ्कर परिचालन गर्नुका साथै सुरक्षित खानेपानीका लागि ब्लिचिङ पाउडर पठाइएको छ। प्रभावित क्षेत्रमा इन्धनको मौज्दात तथा हवाई उद्धारका लागि हवाई इन्धनसमेत व्यवस्थापन गरिएको जनाइएको छ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। छ वटा अस्पताललाई तयारी अवस्थामा राखिनुका साथै वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ।

दूरसञ्चार तथा विद्युत् सेवा पुनःस्थापनामा पनि प्रगति भएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा पुनः सञ्चालनमा आएका छन् भने नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको जनाइएको छ।

बाढीबाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

सरकारले प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार गरिरहेको जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यवसायलाई लक्षित गरी ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्ने काम पनि अघि बढाइएको छ।

यसैबीच, प्रधानमन्त्री शाहले नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना पनि दिएका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा ढाँटलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले उनको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी र राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन्।

प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित रहेको उल्लेख गर्दै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय र स्रोतसाधन परिचालन गर्ने काम निरन्तर जारी रहेको बताएका छन्।