लुम्बिनीमा नेकपाबाट तीन मन्त्री नियुक्त, शपथ भोलि

लुम्बिनीमा नेकपाबाट तीन मन्त्री नियुक्त, शपथ भोलि

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना मन्त्री थपिएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष तीन जनाको नाम सिफारिस गरेका हुन्। नेकपाबाट नियुक्त दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने तय गरिएको छ।

मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सरकार गठनसम्बन्धी सहमतिअनुसार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्मा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई जना मन्त्री रहने गरी पुनर्गठन गर्न लागिएको हो।