बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउन सांसदहरूको माग

बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउन सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार तथा जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन बनाउन माग गरेका छन्।

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनासहित पछिल्ला यस्ता घटनाको चर्चा गर्दै सांसदहरूले अपराधको प्रकृतिअनुसार कडा सजायको व्यवस्था गर्न कानुन समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले विदेशमा समेत नेपाली छोरीहरू असुरक्षित रहेको भन्दै लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरीजस्ता घटनाको अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताए।

उनले संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरे पनि त्यसको अर्थ अपराधीलाई संरक्षण गर्नु नभएको जिकिर गरे। नेपालका कानुन तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताले मृत्युदण्ड निषेध गरे पनि जघन्य अपराधमा कडा सजायका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसद्ले पहल गर्नुपर्ने उनको भनाइ थियो।

पाठकले प्रमाणित हत्या तथा बलात्कारका अपराधीलाई जेलमा राखेर मात्रै नहुने भन्दै मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन बनाउन प्रस्ताव गरे।

रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई पूजा गर्ने समाजमा छोरी नै असुरक्षित हुनु विडम्बना भएको बताउँदै विद्यालय तहदेखि नै सामाजिक चेतनामा सुधार आवश्यक रहेको बताइन्।

कांग्रेसकी सांसद शाहजान खातुन र निनुकुमारी कर्णले यस्ता घटना नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए। श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले सरकारबाट स्पष्ट जवाफ माग्दै कठोर कानुन आवश्यक रहेको बताइन्।

रास्वपा सांसद हरिमोहन भण्डारीले जघन्य अपराधमा संलग्नलाई सरकारले संरक्षण गर्न नहुने भन्दै आवश्यक कानुन बनाउन आफूहरू तयार रहेको बताए। सांसद आशिका तामाङले बलात्कारीलाई मृत्युदण्ड वा अझ कठोर सजायको व्यवस्था गर्न माग गरिन्।

सांसदहरूले पछिल्ला घटनाबाट पाठ सिक्दै महिला तथा बालबालिकामाथि हुने जघन्य अपराध रोक्न प्रभावकारी कानुन, अनुसन्धान र कार्यान्वयन संयन्त्र तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका छन्।