कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको हो। कार्कीको पक्षमा सत्ता साझेदार नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ प्रदेशसभा सदस्यले मतदान गरेका छन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २२ सांसदले मतदान गरेका छन्। कांग्रेसका २९ सदस्यमध्ये २२ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्य तटस्थ बसे। जनता समाजवादी पार्टी (जसपा)की एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्।

९३ सदस्यीय कोसी प्रदेशसभामा एक जनाले राजीनामा दिएपछि ९२ सदस्य कायम छन्। सोमबारको मतदानमा भने ८३ जना सांसद सहभागी भएका थिए।

मतदानमा बहुमत प्राप्त गरेसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले निरन्तरता पाएको छ।