

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका छन्।कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवाले रिट दिएका हुन्। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार खड्काको तर्फबाट भने पूरक निवेदन पेस भएको छ।
देउवाले अन्तरिम आदेशमार्फत १५औँ महाधिवेशनका कार्यक्रम तत्काल रोक्न माग गरेका छन्। खड्काले पनि सर्वोच्चले यसअघिको आदेश पुनरावलोकनका लागि अनुमति दिइसकेको अवस्थामा उक्त निवेदनसमेत साथै राखेर सुनुवाइ गर्न तथा महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न माग गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन अघि बढाउन नहुने देउवा र खड्का पक्षको तर्क छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
उक्त आदेश पुनरावलोकनको माग गर्दै दुवैले दिएको निवेदनमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको आधिकारिकताको विवाद पुनः बल्झिएको हो। यद्यपि, सर्वोच्चले आदेश पुनरावलोकनका लागि अनुमति दिइसकेको भए पनि थापा नेतृत्वले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।