विदेशी स्याउ आयात रोक्न ज्ञानेन्द्र शाहीको माग

विदेशी स्याउ आयात रोक्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले एक–दुई महिनाका लागि विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग आग्रह गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले जुम्लालगायत हिमाली जिल्लाबाट नेपाली स्याउ बजारमा आइसकेकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले देशभरका नागरिकलाई कम्तीमा एकपटक जुम्लाको स्याउ चाख्नसमेत आग्रह गरे।

‘नेपाली स्याउले बजार पाएन। प्रधानमन्त्री र कृषि मन्त्रीलाई सांसदबाट अपिल गर्छु, एक–दुई महिना विदेशबाट आयातित स्याउ रोकौँ,’ उनले भने। शाहीले विदेशी स्याउको आयात रोक्न सके जुम्लाका किसानले मात्र राज्यलाई करिब ९ अर्ब रुपैयाँ योगदान गर्न सक्ने दाबी गरे।

यसैगरी, उनले बलात्कारपछि हुने हत्यासम्बन्धी कानुन थप कडा बनाउनुपर्ने माग गरे। सरकारले कडा कानुनी व्यवस्था समेटेर विधेयकको मस्यौदा ल्याए आफूहरू एकजुट भएर पारित गर्न तयार रहेको उनको भनाइ थियो।