गरिमा हत्या प्रकरणमा भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ

गरिमा हत्या प्रकरणमा भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ

बारा । बाराको सिमरा घटनाका आरोपित नाबालकको भिडिओ खिचेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालको कोठामै प्रहरी तथा अन्य व्यक्तिले आरोपितको भिडिओ खिचेको पाइएको थियो।

कानुनअनुसार बालबालिकाको पहिचान खुल्ने गरी फोटो वा भिडिओ खिच्न तथा सार्वजनिक गर्न पाइँदैन। तर आरोपित नाबालकले घटनाबारे विवरण दिइरहेको भिडिओ खिचेर सार्वजनिक गरिएको पाइएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिइएको बताए।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकाल नेतृत्वको टोलीसमेत बारा पुगेको छ। प्रहरीले गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

सार्वजनिक भिडिओमा नाम लिइएका एक जनालाई सोमबार पक्राउ गरिएको छ। उनी पनि नाबालक रहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। घटनामा अन्य सात जना पनि जोडिएको र उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा साउन ३१ गतेदेखि हराएकी थिइन्। तीन दिनपछि सोही क्षेत्रको एक घरमा उनको शव फेला परेको थियो। प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गर्दै अनुसन्धान गरिरहेको छ।