

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाल सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्।
आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै दाहालले वर्तमान संकटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
उनले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण अवस्था आएको स्वीकार गरे। विगतका कमजोरीमा एकअर्कालाई दोष दिनुभन्दा सबै राजनीतिक शक्तिले सामूहिक आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
दाहालले भने, ‘अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन। यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो।’
दाहालले सरकार बनाउने र परिवर्तन गर्नेमै केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताए। अब सत्ताकेन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र संघर्षमा आधारित सहकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।
उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित आन्दोलनले मात्रै वास्तविक रूपान्तरणको आधार तयार गर्ने उनले बताए।
विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरू तथा नेकपा एमालेसहित अन्य वामपन्थी दलसँग भएको सहकार्य र एकताबाट शिक्षा लिएर अघि बढ्नुपर्ने दाहालले बताए।
‘सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ। त्यसैले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्छ,’ उनले भने।
विगतका कमजोरी नदोहोर्याउने गरी रणनीतिक रूपमा अघि बढ्न आग्रह गर्दै दाहालले सबै वामपन्थी शक्तिलाई नयाँ सहकार्यको यात्रामा सहभागी भएर कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन अपिल गरे