सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख : प्रदीप ज्ञवाली

सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अग्रसर भएको आरोप लगाएका छन्।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको र संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रियता तथा नागरिकले पाएको लोकतान्त्रिक अधिकार गम्भीर संकटमा परेको दाबी गरे।

उनका अनुसार ठूलो जनादेशसहित सरकारमा आएको पाँच महिनामै त्यसका अधिनायकवादी लक्षण देखिन थालेका छन्। राष्ट्रपति, संसद्, आफ्नै पार्टी, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमलाई समेत सरकारले बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले अघि बढिरहेको उनको आरोप छ।

ज्ञवालीले भने, ‘गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् कि यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ।’

झन्डै दुईतिहाइको जनादेशका कारण सरकारका गतिविधिमाथि संसद्बाट बलियो अंकुश लगाउने अवस्था नरहेको उनले बताए। प्रतिनिधिसभामा संविधान निर्माणमा प्रमुख भूमिका खेलेका राजनीतिक शक्तिहरूको उपस्थिति कमजोर रहेकाले सरकारले भविष्यमा संविधानमा प्रतिगामी संशोधन गर्नसक्ने जोखिम रहेको उनको भनाइ छ।

उनले राष्ट्रिय सभाले केही हदसम्म सन्तुलन कायम गर्न सक्ने भए पनि प्रतिनिधिसभाको शक्ति सन्तुलन सरकारको पक्षमा अत्यधिक रहेको बताए।

ज्ञवालीले लोकतन्त्रका संस्थाहरूको भूमिका कमजोर बनाउने गतिविधिविरुद्ध राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।