आज प्रतिनिधिसभामा चार विधेयक समितिमा पठाउने प्रस्ताव

आज प्रतिनिधिसभामा चार विधेयक समितिमा पठाउने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरपछि यी विधेयकलाई समितिमा पठाउने प्रक्रिया अघि बढ्नेछ।