

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले जनकपुरमा सार्वजनिक तथा गुठी जग्गा खाली गराउने अभियानका क्रममा गरिबका घरमा मात्रै डोजर नचलाउन सरकारसँग आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले शनिबारदेखि जनकपुरमा सार्वजनिक जमिन खाली गराउन डोजर चलाउन थालिएपछि स्थानीय त्रसित भएको बताए। उनका अनुसार करिब ६५ वटा घरमा डोजर चलाइएको छ।
उनले सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गरी बनाइएका ठूला होटल, अस्पताल, पार्किङ तथा अन्य संरचनामाथि पनि समान रूपमा कारबाही हुनुपर्ने बताए। ‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ,’ उनले भने, ‘सबैमाथि समान व्यवहार गरियोस्।’
झाका अनुसार गुठी संस्थानसँग भएको समन्वयमा जनकपुरमा पोखरी तथा सार्वजनिक जमिन मिचेर बनाइएका ठूला संरचनालाई पनि १५ दिनभित्र सूचना दिएर खाली गराउने तयारी छ। उनले २०६२ सालमा भोजराज घिमिरे नेतृत्वको अध्ययन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जनकपुरमा करिब ९५० बिघा जमिन अपचलन भएको उल्लेख रहेको बताए।
झाले उक्त ९५० बिघा सार्वजनिक जमिन फिर्ता ल्याउने अभियानलाई गरिबको घरमा मात्रै केन्द्रित नगरी समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीको ध्यानसमेत यस विषयमा रहेको भन्दै उनले सार्वजनिक जमिन संरक्षणको अभियानलाई सफल बनाउन आग्रह गरे।