विशेष महाधिवेशन चाहेको थिइनँ, अदालतले न्याय दिन्छ : देउवा

विशेष महाधिवेशन चाहेको थिइनँ, अदालतले न्याय दिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन्। शनिबार महाराजगन्जस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको जानकारी दिए। मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै नबोल्ने बताउँदै उनले सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गरे।

“विशेष महाधिवेशनको पक्षमा म थिइनँ। हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ।”

देउवाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको पनि बताए। आफ्नो गृहप्रदेश सुदूरपश्चिम र गृहजिल्ला डडेलधुराका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले बाँकी काम पूरा गर्ने बताए।

प्रेस स्वतन्त्रताको पक्षमा आफू सधैँ रहेको बताउँदै देउवाले सञ्चारमाध्यमले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए। प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुने उनको भनाइ थियो।  गत वर्ष पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका थिए। हाल थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेको छ।