

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
भेला आयोजक समितिको संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट नेपाल फर्किएका हुन्। उनलाई कांग्रेस नेता–कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका थिए।
संस्थापन इतर समूहले देउवाका लागि चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्षसमेत तयार गरेको छ। आजको उद्घाटन समारोहमा देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए। भोलि र पर्सि भेलामा बन्दसत्र सञ्चालन हुनेछ। इतर समूहले राष्ट्रिय भेलामा करिब ५ हजार नेता–कार्यकर्ताको सहभागिता हुने अपेक्षा गरेको छ।