

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। तीमध्ये केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।