

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर मौसम बदली हुने अनुमान गरिएको छ।
विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्छ भने पहाडी भूभागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान, साथै मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा, तथा बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनालाई नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।