

काठमाडौँ । राप्रपाबाट अलग भएको डा. धवल शम्शेर राणा समूहले आगामी २९ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि जाने घोषणा गरेको छ। राणाले सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै प्रस्तावित ‘जय नेपाल पार्टी’को दल दर्ताका लागि २९ गते उपस्थित हुन नेता-कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका हुन्।
तर पार्टीका सर्वोच्च नेता भनिएका दुर्गा प्रसाईँ भने तत्काल दल दर्ता गर्ने पक्षमा छैनन्। तयारी पूरा नभएको भन्दै उनले अहिले दल दर्ता नगर्ने बताएका थिए। प्रसाईँले दिएको पछिल्लो अन्तर्वार्तापछि राणा असन्तुष्ट बनेको र त्यसपछि उनले एकल रूपमा दल दर्ताका लागि आह्वान गरेको बताइएको छ।
राणाले जारी गरेको आह्वानमा नयाँ प्रस्तावित दलमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। यता प्रसाईँ समूहका प्रमुख नेता माधव कल्पितले भने राणा र प्रसाईँबीच कुनै असमझदारी वा तिक्तता नरहेको दाबी गरेका छन्। उनले प्रस्तावित दलको वैचारिक, सांगठनिक र संस्थागत संरचनाबारे दुवै नेताबीच निरन्तर छलफल भइरहेको बताएका छन्। कल्पितका अनुसार दल दर्तालगायतका सम्पूर्ण प्रक्रिया आवश्यक तयारी पूरा भएपछि राणा र प्रसाईँको संयुक्त उपस्थितिमा अघि बढाइनेछ।