

काठमाडौं । दोलखाको यलुङरी हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँचजनाको शव नौ महिनापछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार शुक्रबार बेपत्ता पाँचैजनाको शव फेला परेको हो।
गत कात्तिकमा यलुङरी हिमाल आरोहणका क्रममा हिमपहिरो जाँदा १५ जना फसेका थिए। त्यसमध्ये आठजनाको सकुशल उद्धार गरिएको थियो भने दुईजनाको त्यही समयमा मृत्यु भएको थियो। बाँकी पाँचजना भने त्यसयता बेपत्ता थिए।
शुक्रबार फेला परेका शवमध्ये दोलखाको गौरीशंकरका पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको पहिचान भएको छ। बाँकी तीन शवमध्ये एक जना क्यानडेली, एक जना इटालियन र एक जना जर्मन नागरिकको रहेको प्रहरीले जनाएको छ।
डीएसपी लामाका अनुसार चारवटा शव हेलिकोप्टरमार्फत सोमबार काठमाडौं ल्याइएको छ। बाँकी शवको व्यवस्थापन तथा पहिचानसम्बन्धी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यलुङरी हिमाल दोलखाको गौरीशंकर गाउँपालिका-९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्छ। नौ महिनापछि बेपत्ता पाँचैजनाको शव फेला परेसँगै गत कात्तिकमा भएको यलुङरी हिमपहिरोमा बेपत्ता आरोहीहरूको खोजी कार्यसमेत टुंगिएको प्रहरीले जनाएको छ।