साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंमा झमझम पानी परिरहेको भए पनि शिवभक्तहरूको उत्साहमा कमी देखिएको छैन। वर्षाको परवाह नगरी भक्तजनहरू लामबद्ध भएर पशुपतिनाथ मन्दिर प्रवेश गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खोलिएका छन्।

गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, बागमती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिंगलास्थानलगायत विभिन्न क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम बिहानैदेखि जारी छ। गौरीनगरसम्मै भक्तजनको लाम लागेको छ। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि छुट्टै भीड देखिएको छ।

दर्शन व्यवस्थापनमा विशेष तयारी

साउनको अन्तिम सोमबार पशुपतिनाथ दर्शनमा आउने श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने तथा विशेष पूजाको व्यवस्थापन मिलाइएको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाका प्रतिनिधि परिचालन भएका छन्। सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ।

राति ८ बजेसम्म खुला रहने

बिहान ३ बजेदेखि खुलेका पशुपतिनाथ मन्दिरका चारवटै ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहने जनाइएको छ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने कोषले जनाएको छ।

मन्दिर प्रवेशका लागि चारवटै दिशाबाट लामको व्यवस्था गरिएको छ। बिहानैदेखि ठूलो संख्यामा भक्तजन उपस्थित भए पनि लाममा लामो समयसम्म बस्नुपर्ने अवस्था नरहेको कोषको भनाइ छ।

स्वास्थ्य शिविरदेखि प्राथमिक उपचारसम्म

पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक व्यवस्थासमेत मिलाइएको छ। विभिन्न संघ–संस्थाले भक्तजनको सेवाका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।

देशभरका शिवालयमा पनि भीड

साउनको अन्तिम सोमबार काठमाडौं उपत्यकाका अन्य प्रसिद्ध शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेवसहित काठमाडौं उपत्यकाका ठूला-साना शिव मन्दिरमा भक्तजनको लाम लागेको सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूले जनाएका छन्।

साउनको अन्तिम सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्न देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ।