

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले गगन थापालाई ‘सभापति’ भनेर सम्बोधन गर्न छाडेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि देउवा समूहले थापालाई औपचारिक पत्राचारमै ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरेको हो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई पठाएको पत्रमा थापालाई ‘तत्कालीन महामन्त्री’ भनिएको छ। पत्रमा अदालतबाट विवादको अन्तिम किनारा नलागेसम्म पार्टीको साविक संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी प्रश्न कायमै रहेको उल्लेख गरिएको छ।
सर्वोच्चबाट निस्सा जारी हुनुअघि भने देउवा समूहले थापालाई सभापति स्वीकार गर्दै एकता वार्ता अघि बढाएको थियो। अहिले अदालतको आदेशपछि समूहले आफ्नो दाबी थप बलियो भएको निष्कर्ष निकालेको छ। देउवा समूहले देउवा नै कांग्रेसको वैधानिक सभापति भएको दाबी गर्दै आएको छ। यसैबीच, थापासँगको एकता प्रयास सफल नभएपछि नयाँ पार्टी गठनको तयारीसमेत अघि बढाइएको बताइएको छ।
शक्ति प्रदर्शनका लागि देउवा समूहले २९ गते राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलालाई देउवासहित इतर पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। कोइरालाले कांग्रेसको १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न र दूरगामी निर्णय नगर्न आग्रह गरेका छन्। यता संस्थापन पक्ष भने सानेपामा बैठक राखेर १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारीमा छ। दुवै पक्षले आफ्नो पक्षलाई वैधानिक ठहराउने दाबी गरिरहेकाले कांग्रेसभित्रको विवाद थप पेचिलो बन्दै गएको छ।

