

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार कोसी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका हुन्। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।
मुख्यमन्त्री कार्कीले बोलाएको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा सहभागी थिए।
कांग्रेस र एमालेबीच २०८१ भदौ २८ गते भएको सहमतिका आधारमा कोसी प्रदेश सरकार गठन भएको थियो। त्यसपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट मन्त्रीहरू नियुक्त भएका थिए। नयाँ सत्ता समीकरणअनुसार एमाले र नेकपाले शुक्रबारसम्म कोसी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।