नेपालको अर्को ठूलो चुनौती: न्युजिल्यान्ड ‘ए’सँग सेप्टेम्बर ६ मा भिडन्त

नेपालको अर्को ठूलो चुनौती: न्युजिल्यान्ड ‘ए’सँग सेप्टेम्बर ६ मा भिडन्त

काठमाडौं । नेपालले आगामी सेप्टेम्बर ६ मा अष्ट्रेलियामा हुने ५० ओभरको अभ्यास खेल मा न्युजिल्यान्ड ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। न्युजिल्यान्ड क्रिकेट (एनजेडसी) ले सार्वजनिक गरेको तालिकाअनुसार खेल अष्ट्रेलियाको नर्दर्न टेरिटोरीस्थित मारारा क्रिकेट ग्राउन्ड-२ मा हुनेछ। न्युजिल्यान्ड ‘ए’ले यसअघि सेप्टेम्बर २ मा दक्षिण अष्ट्रेलिया र सेप्टेम्बर ४ मा तास्मानियासँग पनि अभ्यास खेल खेल्नेछ।

यसअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म डार्विनमा हुने एनटी टप एन्ड टी-२० शृंखला मा पहिलोपटक सहभागिता जनाउनेछ। प्रतियोगितामा एडिलेड स्ट्राइकर्स, एसीटी कोमेट्स, हैदराबाद ह्युस्टन किङ्समेन, भिक्टोरिया, बंगलादेश हाई-परफर्मेन्स टोली र होबार्ट हरिकेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।

न्युजिल्यान्ड ‘ए’को टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका १३ अन्तर्राष्ट्रिय खेलाडी समावेश छन्। टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडन लेनोक्स र बेन लिस्टरजस्ता अनुभवी खेलाडी रहेका छन्। हालै वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा ‘प्लेयर अफ द सिरिज’ बनेका बायाँहाते स्पिनर जेडन लेनोक्स पनि टोलीमा छन्। टोलीको मुख्य प्रशिक्षक ड्यानियल फ्लिन रहनेछन्।

उता, नेपालले पनि एनटी टप एन्ड टी-२० शृंखला अन्तर्गत लिग चरणमा ६ खेल खेल्नेछ। नेपालको पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइक विरुद्ध हुनेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई-परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि न्युजिल्यान्ड ‘ए’ विरुद्धको अभ्यास खेल नेपालका लागि महत्वपूर्ण अवसर मानिएको छ।