विश्वकपका स्टार गोलरक्षक भोजिन्हा कोलो-कोलोमा आबद्ध

विश्वकपका स्टार गोलरक्षक भोजिन्हा कोलो-कोलोमा आबद्ध

काठमाडौं । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भेर्डेका अनुभवी गोलरक्षक जोसिमार एभोरा डियास (भोजिन्हा) चिलीको प्रतिष्ठित क्लब कोलो–कोलोमा आबद्ध भएका छन्। ४० वर्षीय गोलरक्षकलाई क्लबले मंगलबार औपचारिक रूपमा सार्वजनिक गरेको हो।

धेरै वर्ष साना क्लब र तल्लो डिभिजनका टोलीबाट खेलेका भोजिन्हाले अन्ततः आफ्नो करिअरकै सबैभन्दा ठूलो क्लबमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा उनले आफू सधैं ठूलो क्लबमा खेल्न सक्ने आत्मविश्वास रहेको र कोलो–कोलोबाट प्रस्ताव आएपछि कुनै अन्य विकल्प नसोचेको बताए।

उनका अनुसार अन्य क्लबबाट पनि प्रस्ताव आए पनि कोलो-कोलो नै पहिलो रोजाइ थियो। केही प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेकाले अनुबन्ध घोषणा भएपछि मात्रै उनी चिली पुगेका हुन्।

अनुबन्धका क्रममा जर्सीमा आफ्नो परिचित उपनाम ‘भोजिन्हा’ राख्न भने विशेष अनुमति लिनुपरेको थियो। चिलीको फुटबल नियमअनुसार खेलाडीले कानुनी थर प्रयोग गर्नुपर्ने व्यवस्था रहे पनि फुटबल महासंघले विशेष अनुमति दिएपछि उनले आफ्नो चर्चित उपनाम नै जर्सीमा राख्न पाएका छन्।

सान्टियागो पुगेका भोजिन्हालाई समर्थकहरूले भव्य स्वागत गरेका थिए। स्वास्थ्य परीक्षण र सम्झौतापछि उनले टोलीसँग पहिलो प्रशिक्षणसमेत गरिसकेका छन्। आइतबार युनियन ला कालेराविरुद्ध हुने लिग खेलबाट उनले कोलो–कोलोका लागि डेब्यु गर्न सक्ने सम्भावना छ।

भोजिन्हाले विश्वकपलाई आफ्नो जीवनकै अविस्मरणीय अनुभव बताए पनि कोलो–कोलो जस्तो प्रतिष्ठित क्लबबाट खेल्ने अवसरलाई क्लब करिअरकै सबैभन्दा ठूलो उपलब्धि भनेका छन्।

स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्धको उत्कृष्ट प्रदर्शनपछि उनी विश्वभर चर्चामा आएका थिए। विश्वकपपछि उनका सामाजिक सञ्जालका अनुयायी उल्लेखनीय रूपमा बढेका थिए भने उनी प्रतियोगिताको उत्कृष्ट ११ खेलाडीमा समेत परेका थिए। दक्षिण अमेरिकामा नयाँ चुनौती सुरु गर्दै भोजिन्हाले कोलो–कोलोको सफलताका लागि आफ्नो अनुभव र मेहनत समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।