

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध बुधबार हुने खेल नेपाली टोलीका लागि निकै निर्णायक बनेको छ। उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुने यस खेलमा नेपाल जित निकाल्दै सिधै विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना जीवित राख्ने लक्ष्यमा हुनेछ।
जारी त्रिकोणात्मक शृंखलामा यो नेपालको चौथो तथा अन्तिम खेल हो। यसअघि नामिबियासँग दुवै खेल गुमाएको नेपाल नेदरल्यान्ड्ससँगको पहिलो भेटमा पनि पराजित भएको थियो। त्यसैले अन्तिम खेलमा जित निकाल्नु नेपाली टोलीका लागि अत्यन्तै महत्वपूर्ण बनेको छ। हाल लिग–२ अंकतालिकामा नेदरल्यान्ड्स ३६ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २४ अंकका साथ छैटौँ स्थानमा रहेको छ।
नेदरल्यान्ड्स भ्रमणमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा अपेक्षित प्रदर्शन गर्न सकेको छैन। नामिबियाविरुद्धको दोस्रो खेलमा ब्याटिङ केही सुधारिए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। कीर्तिपुरमा सम्पन्न अघिल्ला दुई शृंखलामा आठमध्ये ६ खेल जित्दै उच्च मनोबलका साथ नेदरल्यान्ड्स पुगेको नेपाल डच भूमिमा भने लगातार संघर्षरत देखिएको छ।
हालसम्म तीन खेल खेल्दा कुनै पनि नेपाली ब्याटरले अर्धशतक बनाउन सकेका छैनन्। ओपनर कुशल भुर्तेल र आशिफ शेखले सुरुआती दुई खेलमा निराशाजनक प्रदर्शन गरे पनि नामिबियाविरुद्ध ५१ रनको साझेदारी गर्दै सुधारको संकेत दिएका थिए। नेदरल्यान्ड्सविरुद्ध पनि उनीहरूबाट राम्रो सुरुआतको अपेक्षा गरिएको छ।
शीर्षक्रमका बायाँहाते ब्याटर इशान पाण्डेले घरेलु मैदानमा देखाएको लयलाई निरन्तरता दिन सकेका छैनन्। कप्तान रोहितकुमार पौडेल पनि पछिल्ला खेलहरूमा संघर्षरत छन्। यद्यपि नामिबियाविरुद्ध ४१ रन बनाएपछि उनी लयमा फर्किने संकेत देखिएको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरीबाट अपेक्षित अलराउन्ड प्रदर्शन देखिएको छैन भने तल्लोक्रमका गुल्सनकुमार झा पनि फिनिसिङमा प्रभावशाली हुन सकेका छैनन्।
नेपालको प्रमुख शक्ति मानिने बलिङ विभाग पनि यस शृंखलामा प्रभावशाली बन्न सकेको छैन। कीर्तिपुरमा जित दिलाएको बलिङ युनिटले नेदरल्यान्ड्समा भने विपक्षीलाई दबाबमा राख्न सकेको छैन।
करण केसीले नामिबियाविरुद्ध पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि प्रमुख बलर सन्दीप लामिछाने अहिलेसम्म विकेटविहीन छन्। सोमपाल कामीले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान एक–एक विकेट लिएका छन्। विशेषगरी अन्तिम ओभरहरूमा नेपाली बलर महँगा सावित भइरहेका छन्। नामिबियाले पछिल्ला १० ओभरमा ८० रन जोड्दै खेल आफ्नो पक्षमा मोडेको थियो।
घरेलु टोली नेदरल्यान्ड्स भने लगातार जितसँगै आत्मविश्वासमा देखिएको छ। कप्तान स्कट एड्वार्ड्स उत्कृष्ट लयमा छन्। उनले नेपालविरुद्ध ६१ रन र नामिबियाविरुद्ध ४० रन बनाएका थिए। विकेटकिपरको भूमिकामा पनि उनले प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण क्याच लिएका छन्।
बास डी लिडेले पछिल्लो खेलमा ९७ रनको शानदार इनिङ खेलेका थिए। त्यस्तै म्याक्स ओ’डाउड, कार्डिक डी लाङ, लोगन भान बिक, आर्यन दत्त, रुलोफ भान डेर मर्वे र एलेक्स रोएलोफसेन पनि टोलीका प्रमुख खेलाडी हुन्। बलिङतर्फ लोगन भान बिक सबैभन्दा खतरनाक देखिएका छन्। उनले दुई खेलमा ६ विकेट लिँदै विपक्षी ब्याटिङलाई निरन्तर दबाबमा राखेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म आठ खेल भएका छन्। दुवै टोलीले समान चार–चार खेल जितेका छन्। नेदरल्यान्ड्सको घरेलु मैदानमा भने दुवै टोलीबीच तीन खेल भएको छ, जसमा घरेलु टोलीले दुई खेल जितेको छ भने नेपालले एक खेल आफ्नो पक्षमा पारेको छ। नेपालका लागि आजको खेल केवल अर्को प्रतिस्पर्धा मात्र होइन, विश्वकप ग्लोबल क्वालिफायरको सम्भावनालाई जीवित राख्ने महत्वपूर्ण परीक्षा पनि हो।