

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्ने भएका छन्। देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा यसपटक एक्लै स्वदेश फर्किनेछन् भने परिवारका अन्य सदस्य केही समयपछि नेपाल आउनेछन्।
स्वास्थ्योपचारका लागि फागुन १३ गते सिंगापुर गएका देउवा चैत ७ गते हङकङ पुगेका थिए। केही समय हङकङमा बसेपछि उनी पुनः सिंगापुरमै रहेका थिए। नेता श्रेष्ठका अनुसार देउवाले साउन २९ गते आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।