फिफाको निलम्बन नहटे नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिने

फिफाको निलम्बन नहटे नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निलम्बन समयमै फुकुवा नभए नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार सार्वजनिक गरेको प्रतियोगिताको टाइसिटसँगै आगामी सेप्टेम्बर ३० भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने स्पष्ट पारेको हो।

फिफाको निलम्बन कायम रहेकाले टाइसिट ड्रमा नेपाललाई समावेश गरिएको थिएन। साफका अनुसार निलम्बन फुकुवा भए नेपाललाई दुई समूहमध्ये कुनै एक समूहको अन्तिम टोलीका रूपमा प्रतियोगितामा सहभागी गराइनेछ।

शनिबार सम्पन्न ड्रअनुसार समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान परेका छन्। यसपटकको साफ च्याम्पियनसिपको आयोजना बंगलादेशले गर्दैछ। प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म सञ्चालन हुनेछ।