विश्वकपसहितका प्रतियोगिताको सेयर बिक्री गर्ने फिफाको योजना फिर्ता

विश्वकपसहितका प्रतियोगिताको सेयर बिक्री गर्ने फिफाको योजना फिर्ता

काठमाडौँ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि प्रमुख प्रतियोगिताहरूमा रहेको सेयर बेच्ने विवादास्पद योजना रद्द गरेको बताएका छन्।

बीबीसीका अनुसार अध्यक्ष इन्फान्टिनोले विज्ञप्तिमार्फत, “यो परियोजनाले विभाजन सिर्जना गरेको स्पष्ट भएको छ, जुन अब यसको मूल उद्देश्यको हितमा छैन,” भन्दै प्रस्ताव अगाडि नबढाइने बताएका छन्।

फिफाले यसअघि FIFA World Cup सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब २० प्रतिशत सेयर बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना अघि सारेको थियो।

तर उक्त प्रस्ताव सार्वजनिक भएपछि युरोपेली फुटबल महासंघ UEFA ले योजना कार्यान्वयन गरिए विश्वकप बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो।

यस्तै बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले पनि फिफाको नेतृत्वप्रति आलोचना गर्दै “गलत व्यक्ति नेतृत्वमा रहेको” टिप्पणी गरेका थिए।

विरोध तीव्र बनेपछि फिफा अध्यक्ष इन्फान्टिनोले शुक्रबार राति औपचारिक रूपमा उक्त प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन्।