विश्वकपपछि मेसीको शानदार पुनरागमन, दुई गोलसहित इन्टर मियामीको सानदार जित

विश्वकपपछि मेसीको शानदार पुनरागमन, दुई गोलसहित इन्टर मियामीको सानदार जित

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लिग्स कपमा प्रभावशाली जित दिलाएका छन्। बिहीबार बिहान वर्षाका बीच सम्पन्न खेलमा इन्टर मियामीले सुरुआती गोलले पछि परेको अवस्था उल्टाउँदै एट्लेटिको सान लुइसलाई ४-२ ले पराजित गरेको हो। चट्याङका कारण दोस्रो हाफ करिब ३० मिनेट रोकिएको थियो।

मेसीले खेलको ११औँ र ४४औँ मिनेटमा गोल गर्दै टोलीको पुनरागमनमा निर्णायक भूमिका खेले। यससँगै उनले लिग्स कपमा १२ खेलबाट १४ गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान कायम गरेका छन्। उनले यसअघि शीर्ष स्थानमा रहेका डेनिस बुआङ्गालाई एक गोलले पछि पारे।

इन्टर मियामीका लागि टेलास्को सेगोभिया र मिकाएलले पनि एक–एक गोल गरे भने नोआ एलेनले तीन गोलमा निर्णायक पास उपलब्ध गराउँदै उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार आठ खेल पुगेको छ।

विश्वकपपछि दोस्रो खेल खेलिरहेका मेसी यसपटक सुरुआती रोजाइमै मैदान उत्रिएका थिए। उनले अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्म पुर्‍याए पनि उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजय बेहोरेका थिए। विश्वकपपछि पहिलो खेलमा कोलम्बस क्रूसँग २-२ को बराबरी हुँदा उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

खेलको चौथो मिनेटमै डेभिड रोड्रिगेजको गोलबाट एट्लेटिको सान लुइसले अग्रता लिए पनि मेसीले ११औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि पहिलो हाफको ४४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। इन्जुरी समयमा मिकाएलले गरेको गोलका लागि पनि मेसीले नै निर्णायक पास दिएका थिए।

सान लुइसका लागि डेभिड रोड्रिगेज र राफा ल्योरेन्तेले एक–एक गोल गरे।

सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएपछि मेसीले क्लबलाई पहिलो पटक लिग्स कपको उपाधि जिताएका थिए। गत संस्करणमा पनि मियामी फाइनल पुगेको थियो, तर सियाटलसँग ३-० ले पराजित भएको थियो।

यसपटक भने टोलीका अनुभवी फरवार्ड लुइस सुआरेज उपलब्ध थिएनन्। अघिल्लो फाइनलपछि भएको झडपका कारण उनीमाथि लिग्स कपका लागि ६ खेलको प्रतिबन्ध लागेकाले उनले यस संस्करणका बाँकी खेल पनि गुमाउनेछन्।