मधेशको तनावबीच काठमाडौंमा संयुक्त विद्यार्थी संगठनको सद्भाव र्‍याली

मधेशको तनावबीच काठमाडौंमा संयुक्त विद्यार्थी संगठनको सद्भाव र्‍याली

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेश क्षेत्रमा उत्पन्न तनावका बीच संयुक्त विद्यार्थी संगठनहरूले काठमाडौंमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सद्भाव र्‍याली आयोजना गरेका छन्।

शुक्रबार माइतीघर मण्डलामा आयोजित र्‍यालीमा सहभागी विद्यार्थीहरूले ‘हातेमालो गरौं, देश बनाऔं’ भन्ने मूल नारासहित सामाजिक सद्भाव कायम गर्न र हिंसा रोक्न आह्वान गरेका हुन्।

र्‍यालीमा ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’, ‘हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराई’, ‘जनता मरिरहेका छन्, सरकार चुपचाप छ’ लगायतका सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो।

विद्यार्थीहरूले कुनै पनि प्रकारको धार्मिक, साम्प्रदायिक वा सामाजिक हिंसाले देशको एकता र सहअस्तित्वमा असर पुग्ने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

सद्भाव र्‍यालीमार्फत उनीहरूले देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न तथा हिंसा र विभाजनकारी गतिविधिबाट टाढा रहन सबै नागरिकलाई अपिल गरेका छन्।