

जनकपुरधाम । सामाजिक सद्भाव कायम गर्दै पछिल्लो सुरक्षा अवस्थालाई सहज बनाउने उद्देश्यले धनुषामा आज प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय–सर्वपक्षीय बैठक बस्ने भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा पछिल्लो घटनाक्रम, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समुदायबीचको विश्वास कायम गर्ने उपायबारे छलफल गरिनेछ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले छलफल सकारात्मक र सहमतिमूलक बनेमा आजै सामाजिक सद्भावको सन्देश दिने उद्देश्यले सद्भाव र्याली समेत आयोजना गर्ने तयारी रहेको जानकारी दिए।
सुनसरी घटनापछि धनुषामा पनि तनावपूर्ण अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो ३:३० बजेदेखि जनकपुरधाम उपमहानगरपालिकाभित्र तथा नरैन र लक्ष्मीनिया गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले सर्वसाधारणलाई शान्ति कायम गर्न सहयोग गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव बिग्रने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। बैठकबाट स्थानीय अवस्था सामान्य बनाउन आवश्यक निर्णय र साझा प्रतिबद्धता आउने अपेक्षा गरिएको छ।