माइतीघरमा शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक ऐक्यबद्धता र्‍याली

माइतीघरमा शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक ऐक्यबद्धता र्‍याली

काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको तनाव र द्वन्द्वका घटनाप्रति चिन्ता व्यक्त गर्दै काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली आयोजना गरिएको छ।

तराई–मधेशमा देखिएको अशान्ति अन्त्य गर्न, धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलिन नदिन र सामाजिक सद्भाव कायम राख्न नागरिक अगुवाहरूको पहलमा र्‍याली निकालिएको हो।

र्‍यालीमार्फत शान्ति, सहिष्णुता, सामाजिक एकता र आपसी विश्वास कायम गर्न सार्वजनिक अपिल गरिएको छ। सहभागीहरूले कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।

र्‍यालीमा ‘एक नेपाली, साझा जिम्मेवारी’, ‘सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल’, ‘विविधतामा एकता, एकतामा शक्ति’ लगायतका सद्भाव र राष्ट्रिय एकताको सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका नागरिक अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शान्तिपूर्ण सहअस्तित्व, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रको स्थायित्व र समृद्धिको आधार भएको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्।