

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो धार्मिक तथा साम्प्रदायिक तनावका बीच सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन्।
छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन तथा मौलाना मोहम्मद खालिद सहभागी थिए।
छलफलपछि हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिहरूले हात मिलाउँदै सामाजिक एकता, सद्भाव र सहकार्यको सन्देश दिएका थिए।
छलफलका क्रममा लामिछानेले दुवै समुदायका प्रतिनिधिलाई संयुक्त वक्तव्य जारी गरेर देशभर सकारात्मक सन्देश दिन प्रस्ताव गरेका थिए।
उनले भने, “यहीँ बसेर बनाऔँ, यहीँबाट सन्देश दिऊँ। हामी यहीँ ड्राफ्ट गरौँ। यहाँहरू सहमत हुनुहुन्छ भने श्रेय कसले पायो भन्ने हाम्रो चासो होइन। हामी श्रेयको दौडमा छैनौँ, जिम्मेवारी पूरा गर्न आएका हौँ।”
लामिछानेले नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले समयमै पहल नगरे थप क्षति हुन सक्ने चेतावनी दिँदै भने, “अलिकति पनि ढिला गर्यौँ भने त्यसले अर्को विध्वंस निम्त्याउन सक्छ। हाम्रा भाइ–भतिजाहरू लडिरहेका छन्, घेरिएका छन्, तड्पिएका छन्। जसले जुन उद्देश्यले यो आगो सल्काएको भए पनि त्यसले डढाउने हाम्रै घर हो। त्यसैले अहिले सबैभन्दा ठूलो आवश्यकता एकता र संयमको हो।”
छलफलमा सहभागी धार्मिक अगुवाहरूले पनि शान्ति, सहिष्णुता र आपसी विश्वास कायम राख्न समुदायस्तरबाट संयुक्त पहल आवश्यक रहेकोमा सहमति जनाएका थिए।