

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा भएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको टिप्पणी गरे।
उनले रास्वपाको राजनीतिक आधार पपुलिजम, अवसरवाद र अराजकतावाद रहेको उल्लेख गर्दै यस्ता आधारमा स्थापित शक्ति दीर्घकालीन रूपमा टिक्न कठिन हुने बताए।
पोखरेलले भने, “पपुलिजम जसरी रातारात राष्ट्रिय शक्तिका रूपमा उदय भयो, त्यसको जग के हो भन्ने प्रश्न उठ्छ। मेरो बुझाइमा यसको आधार पपुलिजम, अवसरवाद र अराजकतावाद हो। यही आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख राजनीतिक शक्तिका रूपमा उदय भएको छ।”
उनले रास्वपाजस्ता राजनीतिक शक्तिलाई सामना गर्न एमालेले वैचारिक, सांगठनिक र कार्यशैलीगत रूपमा आफूलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। महासचिव पोखरेलले पार्टीबाट टाढिएका नयाँ पुस्ता, आधारभूत वर्ग र मध्यम वर्गको विश्वास पुनः जित्नु अहिलेको प्रमुख चुनौती भएको बताए।
उनले भने, “जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ। त्यसैले रास्वपा नेपालको राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति होइन, त्यसलाई सामना गर्न सकिन्छ।”
पोखरेलले समाजमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायलाई पार्टीसँग जोड्न नीतिगत सुधार, कार्यशैलीमा परिवर्तन तथा सांगठनिक पुनर्संरचना आवश्यक रहेको उल्लेख गर्दै एमाले त्यसै दिशामा अघि बढिरहेको बताए।