मधेस र कोशीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, ड्रोनमार्फत निगरानी तीव्र

मधेस र कोशीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, ड्रोनमार्फत निगरानी तीव्र

काठमाडौं । गृह मन्त्रालयले मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा हिंसा फैलिन नदिन सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत निगरानीलाई तीव्र पारिएको मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा गस्ती बढाउनुका साथै संवेदनशील स्थानहरूको निरन्तर निगरानी भइरहेको छ।

सुरक्षा निकायले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई प्रमाणका आधारमा कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रशासनले सर्वसाधारणलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना, अफवाह वा उक्साहटमा विश्वास नगर्न तथा सामाजिक सञ्जालमा अपुष्ट सामग्री साझा नगर्न अपिल गरेको छ।

साउन १० देखि सुनसरीबाट सुरु भएको तनाव मधेसका केही जिल्लामा पनि फैलिएको छ। हालसम्म भएका घटनामा सुनसरीमा दुई जना र सिराहामा एक जनाको गोली लागेर मृत्यु भएको जनाइएको छ।

गृह मन्त्रालयले सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको जनाउँदै स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर शान्ति–सुरक्षा कायम गर्न सबै आवश्यक कदम चालिएको जनाएको छ।