लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २६७२ अंकमा

लगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २६७२ अंकमा

काठमाडौं । यो साताको लगातार चौथो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। बिहीबार नेप्से १६.२९ अंकले घटेर २,६७२ अंकमा कायम भएको हो।

साताको सुरुदेखि नै ओरालो लागेको बजार चार कारोबार दिनमै ६२ अंकले घटेको छ। गत शुक्रबार नेप्से २,७३४ अंकमा रहेको थियो।

कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।

आज ५९ कम्पनीको शेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत परिसूचक ओरालो लागेका छन्। विकास बैंक र जलविद्युत् समूहमा सबैभन्दा बढी, १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

समूहगत रूपमा बैंकिङ ०.३३, विकास बैंक १.१२, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ तथा व्यापार समूह ०.४२ प्रतिशतले घटेका छन्।

बजार घटेका बीच नयाँ सूचीकृत कम्पनी एभरेस्ट कलर को शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १,१३८ रुपैयाँ पुगेको छ। त्यसैगरी सेन्ट्रल फाइनान्स २.८८ प्रतिशत, शुभम् पावर २.१५ प्रतिशत र तारागाउँ रिजेन्सी २.०१ प्रतिशतले उकालो लागेका छन्।

यता कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक १२.६८ प्रतिशत, सोलु हाइड्रोपावर ३.८२ प्रतिशत र रिजलाइन इनर्जी ३.४७ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् तथा सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।