सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, कारोबार पनि खुम्चियो

सेयर बजारमा लगातार दोस्रो दिन गिरावट, कारोबार पनि खुम्चियो

काठमाडौं । नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन ३३.२८ अंकले घटेको नेप्से परिसूचक आज थप ४.६४ अंकले ओरालो लाग्दै २,६९६ अंकमा पुगेको छ। अघिल्लो दिन नेप्से २,७०१ अंकमा बन्द भएको थियो।

दिनभर बजारमा उतारचढाव देखिएको थियो। कारोबारका क्रममा दिउँसो १२:१० बजे नेप्से २,६८१ अंकसम्म झरेको थियो। यस्तै, कारोबार रकम पनि घट्दै रु. ४ अर्ब ४२ करोडमा सीमित भएको छ। अघिल्लो दिन रु. ६ अर्ब ७ करोड बराबरको कारोबार भएको थियो।

आज ९९ कम्पनीको शेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचक सामान्य उतारचढावमा रहे पनि चार समूहमा हरियाली देखियो।

फाइनान्स (०.०६%), होटल तथा पर्यटन (०.१८%), व्यापार (०.७४%) र जलविद्युत् (०.१५%) समूहमा वृद्धि भयो। यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य समूहका सूचकमा गिरावट आएको छ।

हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। त्यसपछि याम्बलिङ हाइड्रोपावर (४.३९%), सिर्जनशील लघुवित्त (२.९९%) र सानीगढ हाइड्रो (२.८८%) को मूल्यमा उल्लेख्य वृद्धि देखियो।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।