मुख्यमन्त्री कार्कीको आग्रह : अफवाह होइन, सद्भाव रोजौँ

मुख्यमन्त्री कार्कीको आग्रह : अफवाह होइन, सद्भाव रोजौँ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई अफवाहको पछि नलाग्न र सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूको साथमा रहेको उल्लेख गर्दै सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्।

उनले संवेदनशील परिस्थितिमा अपुष्ट सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले सत्यतथ्य पुष्टि नभएका सूचनाको पछि नलाग्न अनुरोध गरेका छन्।

मुख्यमन्त्री कार्कीले भने, “यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिकलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गर्दछु।”

उनले घटनालाई थप उत्तेजित बनाउने गतिविधिबाट टाढा रहँदै सामाजिक तथा साम्प्रदायिक सद्भाव जोगाउन सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीलाई पनि जिम्मेवार भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति–सुरक्षा प्रभावकारी बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसँग समेत अनुरोध गरेका छन्।