कर्फ्यु उल्लंघनपछि देवानगञ्जमा सेना परिचालन, अवस्था नियन्त्रणमा

कर्फ्यु उल्लंघनपछि देवानगञ्जमा सेना परिचालन, अवस्था नियन्त्रणमा

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासनका अनुसार हतियारसहित सेनाको टोली परिचालन गरेपछि क्षेत्रको अवस्था नियन्त्रणमा आउन थालेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले स्थिति सामान्य बनाउन आवश्यक प्रयास गरिरहेको बताएका छन्।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

झडपमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो। तर कर्फ्यु आदेशको अवज्ञा गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।