

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्लाको दक्षिणी भेगका हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ तथा कुनै पनि प्रकारका भेला वा बैठक गर्न पूर्ण रूपमा रोक लगाएको जनाएको छ। शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको प्रशासनको भनाइ छ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने झडप र प्रदर्शनका क्रममा अन्य व्यक्तिहरू पनि घाइते भएका छन्।
प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार रु. १ हजारसम्म जरिवाना, एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।