

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
हाल देशभर सामान्यदेखि बाक्लो बादल लागेको छ। बुधबार बिहान बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपात, पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबार काठमाडौं उपत्यकामा दिउँसोपछि मौसम सक्रिय हुने सम्भावना छ। बिहान सामान्यतया बादल लागे पनि तत्काल ठूलो वर्षाको सम्भावना नरहेको उनले बताए। उनका अनुसार दिउँसोदेखि अपराह्न र साँझतिर उपत्यकाका विभिन्न स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यसअघि भने केही समय घाम लाग्ने अवस्था पनि रहने मौसमविद्को अनुमान छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।