सुनसरी झडपमा प्रहरीको गोली लागेर एकको मृत्यु, १६ जना घाइते

सुनसरी झडपमा प्रहरीको गोली लागेर एकको मृत्यु, १६ जना घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा प्रहरीसहित १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुई समूहबीचको विवाद उग्र बन्दै हिंसात्मक रूप लिएपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइते भएका मिथलेश यादव (२२), अमलेश मेहता (१८), मिथलेश मेहता (२५) र अमितकुमार यादव (२०) को कोशी अस्पतालमा उपचार भइरहेको छ। यस्तै रविन्द्र मेहता (२१), अमितकुमार यादव (१८), सुनिलकुमार मेहता (२५) र सुनिलकुमार मेहता (२६) विराट नर्सिङ होममा उपचाररत छन्।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते हुने अन्य सुरक्षाकर्मीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने झडपको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।