तीन महिनामा देशभर ३,२९६ विपद्का घटना, १६० जनाको मृत्यु

तीन महिनामा देशभर ३,२९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौं। पछिल्ला तीन महिनामा देशभर ३ हजार २९६ वटा विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाको मृत्यु, दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विपद्का घटनाबाट ४ हजार ३७५ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्।

यस्तै, सर्पदंशका ५१४ घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन्। हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र १ हजार ३५६ परिवार प्रभावित भएका छन्।

पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् भने चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।

त्यसैगरी, वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार बाढीका १६१ घटनामा ९ जनाको मृत्यु, २ जना बेपत्ता, ९ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा ४ जनाको मृत्यु, १ जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन्।

यस अवधिमा लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) का ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अस्वस्थ भएका छन्। ढुंगा खसेर भएको एक घटनामा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस्तै, वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने हिउँ पहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको तथ्यांकमा उल्लेख छ।