फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।

गएराति फिस्लिङको पानीधारा र चुमखोला क्षेत्रमा पहिरो खसेपछि सोमबार बिहान २ः२० बजेदेखि सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक खुलाउने उद्देश्यले पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ। बिहान ९ बजेसम्म एकतर्फी वा पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उनले बताए।

यसअघि अत्यधिक वर्षा तथा बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोक लगाएको थियो।

प्रहरीका अनुसार पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइनेछ। हाल पहिरोका कारण उक्त सडक प्रयोग गर्ने सबै सवारीसाधन रोकिएका छन्।

प्रशासनले वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।