

काठमाडौं । एसिसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई)लाई मात्र १०० रनमा समेटेको छ। अब फाइनल यात्रा तय गर्न नेपालले १०१ रनको सामान्य लक्ष्य पछ्याउनेछ।
मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमै सीमित भयो। नेपाली बलरहरूको अनुशासित र आक्रामक प्रदर्शनका कारण युएईका ब्याटरहरूले कुनै पनि समयमा ठूलो साझेदारी बनाउन सकेनन्।
युएईका लागि मेहुल प्रणभ कुलकर्णीले सर्वाधिक ३० रन बनाइन् भने लाभान्या केनीले २५ रनको योगदान दिइन्। नेहा कुमारी १९ रनमा अविजित रहिन्। यी तीन खेलाडीबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि रिया शर्मा र अनु कडायत चम्किए। रियाले ३.५ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट हात पारिन् भने अनुले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिइन्। तृष्णा विश्वकर्माले २ तथा मनिषा उपाध्यायले १ विकेट लिँदै युएईको इनिङ्स धराशायी बनाइन्।
नेपाल यसअघि समूह चरणका सबै खेल जित्दै अपराजित रूपमा समूह विजेता बनेर क्वाटरफाइनल पुगेको थियो। क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलसँगै आगामी यू–१९ महिला एसिया कपमा पनि स्थान सुरक्षित गरिसकेको छ। अब नेपाल फाइनल प्रवेशका लागि १०१ रनको लक्ष्य पछ्याइरहेको छ।