

काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो प्रभावशाली जित निकाल्दै समूह ‘डी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो।
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाएर ३० रन मा सीमित भयो। हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट हात पारिन्। मनिषा उपाध्यायले २ विकेट लिँदा कृश्मा गुरुङ र स्नेहा महराले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन को विशाल योगफल तयार गरेको थियो।
कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्कासहित ९० रन को शानदार इनिङ्स खेलिन्। सावित्री धामीले लगातार उत्कृष्ट लय कायम राख्दै ५२ रन जोडिन् भने अलिशा यादव २३ रनमा अविजित रहिन्।
नेपालले बनाएको २११ रनको योगफल यू–१९ स्तरमा नेपालको दोस्रो उच्च स्कोर हो भने जारी प्रतियोगिताकै सर्वाधिक योगफल समेत बनेको छ। यसअघि नेपालले सन् २०२५ को यू–१९ महिला टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध २१३ रन बनाएको थियो।
हङकङका लागि निमरा अरबले २ विकेट लिँदा वोङ विङ र आरुज फातिमाले समान १–१ विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रन र दोस्रो खेलमा सिंगापुरलाई १५१ रन ले पराजित गरेको थियो। लगातार तीन प्रभावशाली जितसँगै नेपाल आत्मविश्वासका साथ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।