

काठमाडौं। फिफा विश्वकप २०२६ उपाधि होडको अन्तिम चरणमा पुगेको छ। ४८ टोलीबाट सुरु भएको प्रतियोगितामा अब फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्ड मात्रै बाँकी छन्। आज र भोलि हुने सेमिफाइनलपछि फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।
यस संस्करणमा फिफाले इतिहासकै सबैभन्दा ठूलो ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३३ अर्ब ७७ करोड रुपैयाँ) पुरस्कार राशि छुट्याएको छ। विजेता टोलीले ५० मिलियन डलर, उपविजेताले ३३ मिलियन, तेस्रोले २९ मिलियन र चौथो स्थान हासिल गर्ने टोलीले २७ मिलियन डलर प्राप्त गर्नेछन्।
फिफाले प्रदर्शनका आधारमा ७०३ मिलियन डलर वितरण गर्नेछ भने बाँकी १६८ मिलियन डलर सबै ४८ टोलीलाई तयारी तथा सहभागिता सहयोगका रूपमा उपलब्ध गराइनेछ। यसअनुसार समूह चरणबाटै बाहिरिने टोलीले पनि कम्तीमा १२.५ मिलियन डलर पाउने सुनिश्चित गरिएको छ।
जुलाई १९ मा हुने फाइनलबाट २३औँ संस्करणको विश्वकप विजेता तय हुनेछ। यसपटक सेमिफाइनलमा पुगेका चारै टोली यसअघि नै विश्वकप जितिसकेकाले नयाँ च्याम्पियन भने नबन्ने निश्चित भएको छ।