दोस्रो अभ्यास खेलमा पनि नेपालको जित, जर्सी सात रनले पराजित

दोस्रो अभ्यास खेलमा पनि नेपालको जित, जर्सी सात रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीस्वरूप खेलिएको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ। बुधबार राति वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोली जर्सीलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार ७ रनले हराएको हो।

यसअघि पहिलो अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले पराजित गरेको थियो। एनसीसी ग्रानभिल मैदानमा जर्सीले दिएको २८३ रनको लक्ष्य पछ्याइरहेको नेपाल वर्षाका कारण खेल रोकिँदा ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रनमा पुगेको थियो। त्यसबेला डीएलएस पद्धतिअनुसार नेपाल ७ रनले अघि रहेकाले विजयी घोषित भयो।

नेपालको जितमा इशान पाण्डेले उत्कृष्ट ९० रनको योगदान दिए। कुशल भुर्तेलले ५२ रन बनाए भने भीम सार्कीले ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन जोडे।

जर्सीका चाल्र्स पर्चार्डले २ विकेट लिए भने जुलियस समरायर र स्कट भान ब्रेडाले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। प्याट्रिक गजले सर्वाधिक ९५ रन बनाए भने ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनउडले ३२ र जोन्टी जेनरले २७ रनको योगदान दिए।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने ललितनारायण राजवंशीले १ विकेट झारे। अब नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासहितको त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्नेछ। उक्त शृंखला जुलाई २१ देखि सुरु हुनेछ।